काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाी स्वकीय सचिव र नेकपा संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का स्वकीय सचिवको सम्पत्ति सुरु गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो । गंगा प्रचण्डकी कान्छी छोरी समेत हुन् ।
‘भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि फारम (बोलीचालीको भाषामा १३ पाने फारम) भराइसकेको छ,’ अख्तियारसम्बद्ध उच्च स्रोतले भन्यो, ‘गंगा दाहालको परिवारको नाममा रहेको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु भएको छ ।’ आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरेको हो । त्यसक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियारसम्बद्ध स्रोतले बतायो ।
त्यसैगरी पूर्वप्रधानमन्त्री प्रचण्डको पछिल्लो कार्यकालकी स्वकिय सचिव दाहालको परिवारको सम्पत्ति अनुसन्धान समेत सुरु भएको छ । अख्तियार सम्वद्ध स्रोतका अनुसार गंगा दाहाल र उनका पति जीवन आचार्यको एकसाथ सम्पत्ति अनुसन्धान अघि बढेको हो । जीवन आचार्य कोशी प्रदेशसभाका सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन् ।