नेपाल एसबीआई बैंकको नाफा १३ प्रतिशत बढेर २ अर्ब ४ करोड रुपैयाँ

0 Shares

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ थियो। बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानीमा भएको सुधारले योगदान गरेको देखिन्छ।

बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब २६ करोड ६४ लाख रुपैयाँ थियो। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ६ अर्ब ८० करोड ३५ लाख रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन नाफा पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकले २ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ७४ करोड ५४ लाख रुपैयाँको तुलनामा बढी हो।

निक्षेप र कर्जा विस्तारमा पनि बैंकले सुधार गरेको छ। असार मसान्तसम्म बैंकको ग्राहक निक्षेप २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप १ खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ थियो। यसैगरी, ग्राहकतर्फको कर्जा तथा सापटी १ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको कर्जा लगानी १ खर्ब ३४ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।

कर्जा विस्तारसँगै बैंकको खराब कर्जा अनुपात भने घटेको छ। बैंकको गैरनिष्क्रिय कर्जा (एनपीएल) ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झरेको छ। यसले बैंकको कर्जा गुणस्तरमा सुधार आएको देखाउँछ। बैंकले खराब कर्जाको जोखिम व्यवस्थापनका लागि कुल कर्जाको तुलनामा १४५.७४ प्रतिशत बराबरको कर्जा नोक्सानी व्यवस्था कायम गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १५ रुपैयाँ ९८ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा रहेको छ भने इक्विटीमा प्रतिफल ९.५९ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.८५ प्रतिशत रहेको छ।

चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति २ खर्ब ४८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। बैंकले चालु आर्थिक वर्षमा वित्तीय पहुँच विस्तारसँगै कर्जा तथा निक्षेप दुवैलाई बढाउँदै नाफा वृद्धि गर्न सफल भएको जनाएको छ।

सम्बन्धित समाचार