काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाएका छन् ।
शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेट ल्याउँदा सरकारमा सहभागी दलसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप लगाउन भ्याए । उनले भने, ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो, छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि ? अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ, यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भीर त्रुटि भएका छन् ।’
ओलीले सांसदहरुलाई निर्देशन दिँदै बजेटमा रहेका कमजोरी औँल्याउन निर्देशन दिएका छन् ।
‘बजेटमा रहेको कुनै पनि कमजोरी औँल्याउनै हुँदैन भन्ने होइन, बजेटमा रहेको कमी माननिय ज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमी कमजोरी छ ? के हुनु पर्थ्यो ? के अझै घट्यो ? यस्ता कुराहरुमा छलफलमा प्रश्न उठाउन सक्नु हुन्छ,’ उनले भने ।
बजेटमा कमजोरी भएपनि पारित गर्नुपर्ने अवस्था रहेको उनले बैठकमा बताए ।