काठमाडौँ । शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशअनुसार शिवम् सिमेन्ट लिमिटेडले करिब ९ करोड ८६ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।
शिवम् होल्डिङ्सले ११ करोड ६० लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीमा शिवम् सिमेन्टको ८५.०३ प्रतिशत स्वामित्व रहेकाले प्रस्तावित लाभांशको सोही अनुपातअनुसार करिब ९ करोड ८६ लाख रुपैयाँ शिवम् सिमेन्टले पाउने छ।
यसैबीच, शिवम् होल्डिङ्सले आगामी भदौ १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले अंकित मूल्य (फेस भ्यालु) मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।
कम्पनीले यसअघि प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। अब भने साधारण सभाबाट अंकित मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरी आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा राखिएको छ।
सभामा तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।