नेपालगन्ज । बाँकेमा सेयर बजारप्रति आकर्षण बढ्दै गएको छ। जिल्लामा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) प्रयोग गर्दै सेयर कारोबार गरिरहेका छन् ।
प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तार, मोबाइल तथा इन्टरनेटको सहज पहुँच र घरबाटै सेयर खरिद–बिक्री गर्न सकिने सुविधाका कारण नयाँ लगानीकर्ताको सहभागिता बढेको हो । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख उदय अधिकारीका अनुसार पछिल्लो समय लगानीकर्ता प्रविधिमैत्री बन्दै गएका छन्। टिएमएसमार्फत जुनसुकै स्थानबाट कारोबार गर्न सकिने भएकाले यसको प्रयोगकर्ता संख्या बढेको उनले बताए ।
“अहिले लगानीकर्ता प्रविधिमा अभ्यस्त भइसकेका छन्। नयाँ लगानीकर्ताले बजारमा प्रवेश गर्दा सबैभन्दा पहिले टिएमएसको सुविधा खोज्ने गरेका छन्,” अधिकारीले भने । उनका अनुसार बाँकेमा हालसम्म ६२ हजार ७९६ जनाले हितग्राही (डिम्याट) खाता खोलेका छन्। तीमध्ये ३७ हजार ३०० पुरुष, २५ हजार ४५९ महिला र ३७ जना अन्य लगानीकर्ता रहेका छन् । खोलिएका डिम्याट खातामध्ये करिब १० प्रतिशत खाता निष्क्रिय रहेको अधिकारीले जानकारी दिए।
आईपीओका कारण पनि बढे डिम्याट खाता
बैंक तथा वित्तीय संस्थाले डिम्याट खाता खोल्ने सुविधा विस्तार गर्नुका साथै गाउँ–गाउँसम्म सेयर बजारबारे जानकारी पुग्न थालेपछि लगानीकर्ताको संख्या बढेको अधिकारीको भनाइ छ । उनका अनुसार पछिल्लो समय प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिनकै लागि पनि धेरैले डिम्याट खाता खोल्ने गरेका छन् ।
लगानीकर्ता कुलप्रसाद शर्माले भने बजारबारे पर्याप्त अध्ययन नगरी केवल आईपीओ आवेदन वा अरूको देखासिकीका आधारमा खाता खोल्ने प्रवृत्ति पनि रहेको बताए । उनका अनुसार डिम्याट खाता खोल्नु मात्र पर्याप्त नभई कम्पनीको अवस्था, बजारको जोखिम र लगानी रणनीतिबारे जानकारी लिन आवश्यक हुन्छ ।
नेपालगन्ज सेयर कारोबारको केन्द्र बन्दै
बाँकेमा हाल इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज र प्राइमो सेक्युरिटिजमार्फत सेयर कारोबार हुँदै आएको छ ।
नेपालगन्ज सेयर कारोबारको केन्द्रका रूपमा विकास हुँदै गएको छ। बाँकेसँगै बर्दिया, दाङ, कैलाली, कालीकोट, जुम्लालगायत जिल्लाका लगानीकर्ताले समेत नेपालगन्जका ब्रोकरमार्फत कारोबार गर्दै आएका छन् ।
अनलाइन कारोबार प्रणाली विस्तारसँगै भौगोलिक दूरी घटेको र राजधानी केन्द्रित रहेको सेयर कारोबार अहिले देशका विभिन्न जिल्लाबाट सहज रूपमा गर्न सकिने अवस्था बनेको छ ।