काठमाडौँ । प्रदेशस्तरमा नयाँ सरकार गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ३ बुँदे समझदारीप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।
शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबिच पाँच वटा प्रदेशमा सरकार गठन गर्ने ३ बुँदे समझदारी गरेका थिए । उक्त समझदारी अनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने सहमति भएको थियो । तर, उक्त सहमतिप्रति नेकपाका सहसंयोजक माधव नेपालले सत्ता केन्द्रीत सहमति मात्रै गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘होमवर्क कम भयो भन्ने एउटा असन्तुष्टि अर्को सत्ता केन्द्रीत सहमती राम्रो होइन भन्ने सहसंयोजकको कुरा हो’,नेपाल निकट एक नेताले भने, ‘नीति केन्द्रित हुनुपर्नेमा त्यसो गरिएन भन्ने गुनासो उहाँको हो ।’
माधव नेपाल निकट नेता रामकुमार भट्टराईले कार्यगत एकता हुँदै भोलीका दिनमा वाम एकता गर्ने बाटोमा जाने गरी गरेको भए राम्रो हुने नेपालको भनाई रहेको बताए । नेता भट्टराईका अनुसार एमाले र नेकपा मिलेर सरकार बनाएपछि के के काम गर्ने भनेर प्राथमिकता समेत निर्धारण गरेको भए राम्रो हुने बताए ।
‘एमाले र नेकपा मिलेर बन्ने नयाँ सरकारले के नवीनतम कार्य गर्छ त रु नयाँ चिज के दिने जनतालाई भनेर नगरिएकाले हतार गरिएको हो कि, परिपक्व भएन कि भन्ने कुरा हो’, नेता भट्टराईको भनाइ छ । शनिबार ओली र प्रचण्डबिचको सहमतिका समयमा नेपाल भने उपस्थित भएका थिएनन् ।