काठमाडौं । सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा बसिरहनु नैतिक रूपमा उचित नहुने निष्कर्षसहित कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्।
राजीनामा आजै बुझाउने तयारी भए पनि सार्वजनिक बिदा तथा मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेकाले भोलिका लागि सारिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले बताइन्। ‘आजै राजीनामा बुझाउने योजना थियो। तर मुख्यमन्त्री बाहिर हुनुहुन्छ, त्यसैले कांग्रेसबाट मन्त्री बनेकाहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्, ढकालले भनिन्। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले पनि सबै मन्त्रीले भोलि नै राजीनामा बुझाउने बताए।
लुम्बिनी प्रदेशमा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा २०८१ साउनमा एमाले नेतृत्वमा सरकार गठन भएको थियो। हाल चेतनारायण आचार्य मुख्यमन्त्री छन्।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूमा खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना, पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्। तर पछिल्लो समय प्रदेशमा नयाँ सरकार बनाउने गरी शनिबारमात्रै एमाले र नेकपाबिच ३ बुँदे सहमति भएको थियो ।