त्रिविको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

0 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो।
उक्त प्रश्नपत्र बाहिर निकाल्ने ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई साइबर ब्युरोले नियन्त्रणमा लिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। यसबारेमा शिक्षा मन्त्री पोखरेलले आइजिपी दानबहादुर कार्कीसँग छलफल गरेका छन्। प्रहरीले यसमा संलग्नबारे सार्वजनिक गर्ने तयारी गरेको छ।

‘दुई जना नियन्त्रणमा लिएको छ। अहिले मन्त्रीज्यू र आइजिपी छलफलमा हुनुहुन्छ। उहाँहरूले यो घटनाबारे सार्वजनिक गर्नुहुन्छ,’ मन्त्रीको एक सचिवालय सदस्यले भने। नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले यस विषयमा केहीबेरमा विस्तृत जानकारी दिने बताए। ‘ब्युरोले ल्याउँदैछ भन्ने सुनेँ। केहीबेरमा आधिकारिक रूपमा जानकारी आउला,’ उनले भने।

‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको थियो। केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज टियु स्टुडेन्ट्सुले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो।

‘प्राप्त जानकारीअनुसार परीक्षा मध्याह्न १२ बजे सुरू भएको थियो। तर, करिब १२ः०५ बजेतिर नै परीक्षा प्रश्नपत्रहरू विभिन्न ह्वाट्सएप समूहमा साझा भएको दाबी गरिएको छ। यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको परीक्षार्थी तथा सरोकारवालाहरूको भनाइ छ,’ उक्त पेजमा उल्लेख छ। सार्वजनिक गरिएको स्क्रिनसटमा ‘सुलभ सर’ भनिएका व्यक्तिले प्रश्न पत्र पठाएको देखिएको हो। उनले प्रश्नपत्र पठाएपछि केशव भट्ट भन्ने व्यक्तिले ‘सर सोलुसन पनि पठाइ दिनु न’ भनेका छ्न्। त्यसको केही मिनेटमा सुलभले अर्को ‘पिडिएफ फाइल’ पठाएको देखिन्छ। उक्त पिडिएफमा के थियो भन्ने खुलेको छैन।

त्यस्तै, त्यही ग्रुपमा रहेका ‘सुजन पौडेल’ ले अब अर्को इकोनोमिक्सको परीक्षामा आफू ढिला जाने लेख्छन्। ‘अब इकोनोमिक्सकोमा ढिला जान पर्ला सर। प्रश्न पत्र हाल्दिनुहोला यसरी,’ उनले लेखेका छन्। उक्त ग्रुपमा एक हजार २३ जना सदस्य रहेको देखिन्छ।

प्रश्न पत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो।

शनिबार नै सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई आधिकारिक रूपमा पत्राचार गरेका हुन्। पत्राचारमा यसरी सार्वजनिक भएको विषयमा आफूहरूको ध्यानाकर्षण भएको र खोजी गरिदिनका लागि अनुरोध गरेको थियो।

‘एमबिएस प्रथम सेमेष्टरको अर्गनाइजेशनल बिहेबियर विषय परीक्षाको प्रश्नपत्रको सम्बन्धमा विभिन्न ह्वाट्सएप समूहहरूमा साझा गरिएकोसम्बन्धी आएकाले, यस व्यवस्थापन संकाय डीनको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्राचारमा लेखिएको छ, ‘सुलभ सर लगायत केही व्यक्तिहरूको नाम र फोन नम्बर पनि स्क्रिनसटमा देखिन्छ। यस सम्बन्धमा अवश्यक व्यक्ति संस्थारपरीक्षा केन्द्रको पहिचान गरी हदै सम्मको कानूनी कारबाही गरी सहयोग गरीदिनु हुन अनुरोध गर्दछु।’

परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ। प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा संचालक समितिले निर्णय गरेको छ।

 

सम्बन्धित समाचार