भैंसेपाटीको मन्त्री निवासलाई बालआश्रम बनाउन रवीन्द्रको प्रस्ताव

0 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व उपाध्यक्ष रवीन्द्र मिश्रले भैंसेपाटीमा रहेको मन्त्री निवासलाई ‘पापी निवास’ को संज्ञा दिँदै यसलाई बालआश्रममा परिणत गर्न प्रस्ताव राखेका छन् । अहिलेको सरकारका मन्त्रीहरू यो विलासी भवनमा बस्न गए ञपाप लाग्नेझ उनको चेतावनी छ । सुदूरपश्चिमको एक दुर्गम क्षेत्रमा स्थानीय बासिन्दाले अत्यन्तै जोखिमपूर्ण भिरको बाटोमा शव बोकिरहेको भिडियो सार्वजनिक गर्दै मिश्रले आक्रोश पोखेका हुन् ।

मिश्रले सेयर गरेको भिडियोमा केही मानिसहरूले ठूलो पानी परिरहेको समयमा भिरको साँघुरो र चिप्लो बाटोमा पालले ढाकिएको शव बोकेर हिँडिरहेको देखिन्छ। यो दृश्य ‘अपवाद’ नभई काठमाडौँका शासकले नदेख्ने नेपालको वास्तविक ‘प्रतिविम्ब’ भएको मिश्रको टिप्पणी छ । उनले लेखेका छन्, ‘एकातिर जनता यसरी भिरमा ज्यान जोखिममा राखेर शव बोक्न बाध्य छन्, अर्कोतिर भैंसेपाटीमा झण्डै ३ अर्बको लागतमा भव्य मन्त्री निवास बनाइएको छ र अहिले फेरि ४० करोड खर्च गरेर पुनस्निर्माण गरिँदै छ ।’

मिश्रले मुलुकको दयनीय अवस्थाका बीच मन्त्रीहरू विलासी महलमा बस्नु अनैतिक भएको बताएका छन् । ‘यस्तो अवस्था भएको देशमा त्यो मन्त्री निवासमा फेरि मन्त्रीहरू विराजमान भए भने तिनलाई पनि पहिलेका शासकहरूलाई जस्तै पाप लागोस् । पापै लागोस्’, उनले लेखेका छन् ।

उनले भैंसेपाटीको उक्त आलिसान मन्त्री निवासलाई ‘दक्षिण एसियाकै उदाहरणीय बाल आश्रयमा परिणत गर्न सुझाव दिएका छन् । मन्त्रीहरूका लागि भने एउटै अपार्टमेन्ट भवन निर्माण गरेर छुट्टाछुट्टै तलामा राख्नुपर्ने उनको तर्क छ। यसो गर्दा सुरक्षा र खर्च दुवै दृष्टिकोणबाट राज्यलाई सहज हुने र जनतामा सकारात्मक सन्देश जाने मिश्रले बताएका छन् ।

संसारका सुशासित र सुसंस्कृत मुलुकहरूमा मन्त्रीहरूका लागि यसरी राज्यको ठूलो रकम खर्च गरेर आलिसान महल बनाउने चलन नभएको उल्लेख गर्दै उनले नेपाली राजनीतिज्ञहरूको विलासीता मोहमाथि प्रश्न उठाएका छन् ।

सम्बन्धित समाचार