काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको निजी निवास, मिडिया हाउसको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने कार्यक्षेत्रमा अपरिचित व्यक्तिहरूले सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा उक्त घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटना भएको ठहर गरिएको छ । यस्ता गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको कांग्रेसको भनाइ छ ।कांग्रेसले उक्त घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशका प्रमुख सञ्चारगृहको मूल प्रवेशद्वारमा शङ्कास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमार्फत पार्टीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कुनै पनि हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेको हो ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिने हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार भएको उल्लेख गरिएको छ ।