हृदयविदारक हारसँगै नेयमारले लिए सन्यास, देशका लागि कति योगदान गरे?

0 Shares

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २-१ को हृदयविदारक हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको टुंग्याएका हुन् ।

३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताएका थिए । अमेरिकाको न्यु जर्सीमा भएको खेलमा एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए ।

नेयमारले इन्जुरी समयको पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । त्यसअघि ब्राजिलले पहिलो हाफमा पनि पेनाल्टीमा गोल गर्न चुकेको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए ।

विश्वकपअघि चोट बोकेर प्रतियोगितामा सामेल भएका नेयमारले अधिकांश समय बेञ्चमा बस्नु परेको थियो । त्यसपछि उनले प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार बिस्तारै टोलीमा पुनरागमन गरेका थिए ।

ब्राजिलका लागि उनको अन्तिम गोल नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीबाट गरे । तर, पाँच पटकको विश्वविजेता टोलीलाई प्रतियोगितामा जोगाउन त्यो पर्याप्त भएन । सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता हुन् ।

चार संस्करणको फिफा विश्वकप खेलेका उनले एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे । यसबीच, उनको विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो । उनले सन् २०१३ मा फिफा कन्फेडेरेसन कप जिते ।

त्यसपछि कप्तानका रुपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाए । उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए ।

सम्बन्धित समाचार