काठमाडौं । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई अनिवार्य रूपले ढाका टोपी लगाउन निर्देशन दिएका छन्। निरीक्षण तथा अनुगमनका लागि शुक्रबार अध्यागमन कार्यालय पुगेका गृहमन्त्री गुरूङले कर्मचारीहरूलाई ढाका टोपी लगाउन निर्देशन दिएको त्यहाँका सूचना अधिकारी अनुज भण्डारीले जानकारी दिए।
‘उहाँले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने हुनाले कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिनुभएको थियो, उनले भने, ‘मन्त्रीज्यूको निर्देशन अनुसार आइतबारसम्म लगभग सबै कर्मचारीले ढाका टोपी लगाउन थालेका छन्।’
उनका अनुसार मन्त्री गुरूङले शुक्रबार ढाका टोपी लगाउन निर्देशन दिएपछि शानिबारदेखि नै केही कर्मचारीले लगाउन सुरू गरेका थिए।
पर्यटकहरू नेपाल प्रवेश गर्दा सबभन्दा पहिले देख्ने स्थान भएकाले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशका छवि झल्किने भन्दै गृहमन्त्रीले ढाका टोपी लगाउन भनेको उनी बताउँछन्।