कामना सेवा विकास बैंकले पायो ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट’ गोल्ड अवार्ड

0 Shares

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट’ (बीपीए) अवार्ड २०२५ बाट सम्मानित भएको छ ।

बैंकले वित्तीय सेवा क्षेत्रतर्फको विधामा उत्कृष्ट प्रदर्शन गर्दै बहुमूल्य गोल्ड अवार्ड हात पारेको हो । यस सम्मानसँगै कामना सेवा विकास बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शनको साख कायम राख्न सफल भएको छ । बैंकले यसअघि बीपीए अवार्ड २०२३ मा सिल्भर अवार्ड र बीपीए अवार्ड २०२४ मा पनि गोल्ड अवार्ड पाएको थियो ।

बैंकको वित्तीय विवरण लगातार रूपमा दक्षिण एसियामै विशिष्ट मानिने ‘साफा अवार्ड’ बाट समेत सम्मानित हुँदै आएको छ। यसले बैंकको वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तरको उत्कृष्टतालाई पुनः पुष्टि गरेको बैंकले जनाएको छ ।

यो प्रतिष्ठित अवार्ड बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतीकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो । बीपीए अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने प्रमुख उद्देश्य राख्छ। कामना सेवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास अनुरूप वित्तीय सूचनाहरू प्रवाह गरेका कारण यो सफलता पाएको मूल्यांकन समितिले जनाएको छ ।

काठमाडौँको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बिच आईक्यानका अध्यक्ष निल बहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । बैंकको उत्कृष्ट प्रतिवेदन प्रस्तुति तथा वित्तीय पारदर्शिताप्रतिको प्रतिबद्धताको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले बैंकको संस्थागत सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासलाई थप उचाइमा पुर्‍याएको बैंकले उल्लेख गरेको छ ।

यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई आगामी दिनमा थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ । बैंकले भविष्यमा पनि सरोकारवालाहरूलाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार