काठमाडौं । ब्राजिल र मोरक्को जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहीबार बिहान सम्पन्न खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा स्थान सुरक्षित बनाएको हो ।
मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाइ ३-० ले हराउँदै समूह विजेता बन्यो । ब्राजिलको ७ अंक छ । समान ७ अंक रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बनेको हो ।
स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरेका थिए । भिनिसियसले खेलको सातौँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए ।
दुई पटकको अग्रता जोगाउन नसक्दा हाइटी जित विहीन बन्न पुग्यो । मोरक्कोले हाइटीलाइ ४-२ ले पराजित गर्दै नकआउट चरणमा पुगेको हो ।
१०औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । ३९औँ मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो ।
४३औं मिनेटमा हाइटीले दोस्रोपटक अग्रता लियो । उक्त अग्रता पनि जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काए ।
खेलको ७८औं मिनेटमा पहिलो अग्रता लिएको मोरक्कोले ८९औं मिनेटमा अर्को गोल गर्दै जित निश्चित बनाएको हो ।