काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै त्यसको कडा विरोध गरेको छ। सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा उपाध्यक्ष पौडेललाई ‘अपहरण शैलीमा’ गिरफ्तार गरिएको उल्लेख गर्दै एमालेले उक्त कदमको घोर निन्दा तथा भर्त्सना गरेको छ । वक्तव्यमा एमाले सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिएको दाबी गर्दै वर्तमान सरकारले विपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाइएको छ ।
एमालेले पौडेल पार्टीको सांगठनिक कार्यक्रमका लागि सुर्खेतमा रहेको र कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको जनाएको छ । पार्टीले सामान्य कानुनी प्रक्रिया अपनाएर पनि सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै नियतवश गिरफ्तारी गरिएको दाबी गरेको छ ।
वक्तव्यमा सार्वजनिक पद धारण गरिसकेका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ र ‘स्टन्ट’का लागि बदनियतपूर्वक पक्राउ गरिएको आरोप लगाइएको छ। एमालेले यसलाई पार्टी र अध्यक्ष ओलीमाथि भइरहेको श्रृंखलाबद्ध राजनीतिक प्रहार तथा षड्यन्त्रको निरन्तरता भएको उल्लेख गरेको छ।