काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिइएको घटनालाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र राजनीतिक उद्देश्यबाट प्रेरित कदमको संज्ञा दिएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कुनै पनि व्यक्तिमाथि कारबाही अघि निष्पक्ष अनुसन्धान, तथ्य तथा प्रमाण संकलन र कानुनी प्रक्रिया पूरा हुनुपर्ने लोकतान्त्रिक मान्यताको विपरीत पौडेललाई नियन्त्रणमा लिइएको बताएका छन् ।
पोखरेलका अनुसार पौडेल पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला नियोजित ढंगले पक्राउ गरिएको हो । उनले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले केही समयअघि फोनमार्फत भोलिपल्ट काठमाडौं आएपछि सम्पर्क गर्न अनुरोध गरेको र त्यसको केही समयमै सुर्खेत प्रहरीलाई नियन्त्रणमा लिन पत्राचार गरिएको दाबी गरेका छन् ।
उनले उक्त घटनाक्रमले राज्यका अनुसन्धान निकायहरू स्वतन्त्र रूपमा नभई ‘अदृश्य शक्तिकेन्द्र’को प्रभावमा सञ्चालन भइरहेको आशंका पैदा गरेको बताएका छन्। राज्यका निकायहरू निष्पक्ष, स्वतन्त्र र कानुनसम्मत ढंगले सञ्चालन हुनुपर्नेमा राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताको प्रभावमा निर्णय लिन नहुने उनको भनाइ छ । महासचिव पोखरेलले अनुसन्धान र अभियोजनको प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालना गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै कसैलाई सिध्याउने वा रिसइबी साँध्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन् ।
एमालेले आफू न्यायपूर्ण समाज र निष्पक्ष न्याय प्रणालीको पक्षमा रहेको बताउँदै कसैलाई पनि पूर्वाग्रहको सिकार बनाइनु नहुने र वास्तविक दोषी कानुनी दायराबाट उम्कन नपाउने वातावरण सुनिश्चित हुनुपर्ने धारणा राखेको छ ।
पोखरेलले उपाध्यक्ष पौडेलको गिरफ्तारी उक्त मान्यता विपरीत देखिएको दाबी गर्दै यसलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् । उनले सरकारको निर्देशनमा सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले यस्तो कार्य भएको आरोप समेत लगाएका छन् ।