काठमाडौं । तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन् । यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ ।
यसैबीच, महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा भने एउटै बोटमा दुई स्वादिष्ट जातका आँप फलेका छन् । उनको घरआँगनको एउटै बोटमा ती दुवै जातका आँप फलेका छन् । महतोले मालदहको बिरुवा भनी दुई वर्षअघि रोप्नुभएको बोटमा पहिलोपल्ट यसपालि फल लागेको हो । त्यस आँपको बोटका मुख्य दुई हाँगामा फरक–फरक जातका आँप फलेका हुन् ।
किसान महतोले भने, “हेर्नुस त एकापट्टि मालदह र यो अर्को हाँगामा दशहरी फल्यो, दुवै स्वादिष्ट जातका आँप गनिन्छन् म खुसी छु ।” त्यो बोटमा मालदहका दाना ठूला रहेका र दशहरीका फल औसत रूपमा साना छन् ।
आँपको बिरुवामा कलमी लगाउँदा फेदतिर दशहरी र माथिल्लो भाग मलदहको हाँगो फाटेर गएको हुनसक्ने बागवानी विज्ञका रूपमा लामो सरकारी सेवाबाट अवकाश लिनुभएका स्थानीय ताराबहादुर भुजेल बताए । तथापि, एउटै बोटमा दुई जातका आँप फल्नु दुर्लभ घटना र अपवादमा भेटिने गरेको उनको भनाई छ ।