काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औं विशेष साधारण सभा बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा मुख्य कार्यालय नारायणहिटी पथ, काठमाडौंमा सम्पन्न भएको छ।
सभाले बैंकको पुँजी संरचना मजबुत बनाउन तथा जोखिम वहन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्ने निर्णय पारित गरेको छ।
बैंकका अनुसार यो निर्णयले प्राथमिक पुँजीकोष अनुपात सुदृढ पार्ने, व्यवसाय विस्तारमा सहयोग पुर्याउने तथा वित्तीय स्थायित्व थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
चार सञ्चालक निर्वाचित
विशेष साधारण सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ। समूह ‘क’ संस्थापक शेयरधनीतर्फबाट अनिल कुमार ज्ञवाली निर्वाचित भएका छन्।
त्यसैगरी समूह ‘ख’ सर्वसाधारण शेयरधनीतर्फबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी निर्वाचित भएका छन्।
निर्वाचित सञ्चालकहरू सम्बन्धित क्षेत्रका अनुभवी तथा विज्ञ व्यक्तित्व भएको बैंकले जनाएको छ।
निर्वाचित सञ्चालकमध्ये अनिल कुमार ज्ञवालीले नेपालका प्रमुख वाणिज्य बैंक तथा पूर्वाधार बैंकमा प्रमुख कार्यकारी अधिकृतको अनुभव हासिल गरेका छन्। साथै अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा समेत काम गरेको अनुभव रहेको बैंकले जनाएको छ।
प्रकाशचन्द्र मैनाली लामो समयदेखि वाणिज्य बैंक तथा सेवामूलक उद्योगमा संलग्न रहँदै आएका छन्। त्यसैगरी डा. राजेन्द्र पण्डित नेपाल राष्ट्र बैंकमा दुई दशकभन्दा बढी समय विभिन्न तहमा कार्यरत रहँदै नीति तथा विश्लेषण क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन्।
सर्वसाधारण शेयरधनीतर्फबाट निर्वाचित हिमादेवी खड्का केसीले अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा करिब दुई दशक नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव रहेको बैंकले जनाएको छ।
बैंकले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।