काठमाडौँ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार २ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले गत जेठ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि यो आईपीओ खुला गरेको हो। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि यसअघि नै बाँडफाँट भइसकेको छ । बाँकी रहेको सेयरमध्ये १७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको हो ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ (Mero Share) सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ (CARE-NP BB-) प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ ।