काठमाडौँ। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ६३ हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले यस चरणमा ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको शेयर बिक्रीमा ल्याएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरसमेत बाँडफाँट भइसकेको छ । ती समूहमा शेयर बाँडफाँटपछि बाँकी रहेको शेयर अहिले सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
बेनी हाइड्रोपावरले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
त्यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता शेयर छुट्याइएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता, कम्पनीका कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता शेयर छुट्याइएको थियो ।
स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँटपछि बाँकी ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
कम्पनीको आईपीओमा आजदेखि भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि असोज ५ गतेसम्म कायम रहनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरोसेयर’मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
१९.८ मेगावाटको जलविद्युत् आयोजना सञ्चालनमा
बेनी हाइड्रोपावरले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
कम्पनीका अनुसार आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ ।
आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ ।
कम्पनीको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ ।
आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले आईपीओबाट प्राप्त रकम बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर सूचीकृत भएपछि कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थका आधारमा न्यूनतम ९१ रुपैयाँ २७ पैसा र अधिकतम २७३ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेन्ज तोकिनेछ ।
कम्पनीको आईपीओमा सर्वसाधारणतर्फबाट आउने लगानी जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनमा रहेको ऋणको दायित्व व्यवस्थापन गर्न प्रयोग हुने भएकाले यसको वित्तीय संरचना सुधारमा समेत सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।