अब मोबाइलबाटै चाँदी किन्न सकिने, हिमालयन बुलियनले ल्यायो ‘एचबीसी सिल्भर’ एप

0 Shares

काठमाडौं । भौतिक चाँदीमा लगानी गर्न चाहनेका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले मोबाइलबाटै चाँदी खरिद, बिक्री तथा लगानी व्यवस्थापन गर्न सकिने ‘एचबीसी सिल्भर’ एप सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार एपमार्फत प्रयोगकर्ताले मोबाइलबाटै चाँदी खरिद गर्न, आफ्नो लगानीको विवरण हेर्न तथा आफूसँग रहेको चाँदीको हालको बजार मूल्य थाहा पाउन सक्नेछन् । यसले भौतिक चाँदीमा लगानी गर्ने प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने कम्पनीको विश्वास छ ।

एपमा खाता खोल्ने प्रक्रिया सरल बनाइएको कम्पनीले जनाएको छ । पहिलोपटक चाँदी खरिद गर्दा नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित व्यवस्थाअनुसार स्थायी लेखा नम्बर (प्यान) र फोटोसहितको ग्राहक पहिचान विवरण प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रयोगकर्ताले एपमा उपलब्ध खरिद विकल्पमार्फत तत्कालको बजार मूल्यमा चाँदी खरिद गर्न सक्नेछन् । खरिदको भुक्तानी कनेक्टआईपीएस वा एचबीसीको विद्युतीय खातामार्फत गर्न सकिने कम्पनीले जनाएको छ ।

खरिद गरिएको चाँदीको पूर्ण भुक्तानी नभएसम्म बिमा गरिएको सुरक्षित भण्डारण कक्षमा राखिने व्यवस्था छ । प्रयोगकर्ताले आवश्यक परेको समयमा पूर्वनिर्धारित समय मिलाएर आफूले खरिद गरेको चाँदी बुझिलिनसमेत सक्नेछन् ।

एपमा प्रयोगकर्ताले आफूसँग रहेको चाँदीको परिमाण र त्यसको हालको बजार मूल्यसहित लगानीको विवरण हेर्न सक्ने सुविधा छ । यसबाट चाँदीको मूल्यमा हुने परिवर्तनअनुसार आफ्नो लगानीको अवस्था बुझ्न पनि सहज हुने कम्पनीको भनाइ छ ।

‘एचबीसी सिल्भर’ एप एन्ड्रोइड र एप्पलको आईफोन दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एप तथा खातासम्बन्धी थप जानकारीका लागि हिमालयन बुलियनको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित समाचार