पाँच दिने भारत भ्रमण सकेर फर्किए सभापति रवि लामिछाने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएका लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी साँझ स्वदेश फर्किएका हुन् ।

उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भाजपाका विदेश मामिला विभागका प्रमुख डा विजय चौथाइवालेले बिदाइ गरेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछट्टै भेटवार्ता गरेका थिए । यस अवसरमा दुई पक्षबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डल भाजपाको निमन्त्रणामा सोमबार नयाँ दिल्ली प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य थिए ।

सम्बन्धित समाचार