धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका ४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१-०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको थियो । जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगर बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका ५ का ४५ वर्षीय राम प्रकाश थारुको शनिबार बिहान मृत्यु भएको हो ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहान ५ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् । दुर्घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पठाएको थियो ।