काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्च (CNIYEF) ले काठमाडौँमा “नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण” (Diagnosing the Economic & Industrial Health of Nepal) विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ ।
यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र आगामी विकासका सम्भावनाबारे गहन विश्लेषण गर्न युवा व्यावसायिक नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई एकै ठाउँमा ल्याएको हो। छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो ।
अन्तरक्रियाको प्यानल छलफलमा प्रमुख वक्ताका रूपमा पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल र पूर्वमन्त्रिपरिषद्का सदस्य अनिलकुमार सिन्हा रहेका थिए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायत विशिष्ट व्यक्तिहरू सहभागी भएको उक्त कार्यक्रमको सहजीकरण मञ्चकी उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन् ।
कार्यक्रममा मञ्चका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक मन्दीको अवस्थामा अर्थतन्त्रको सही निदान हुनुपर्नेमा जोड दिए। भविष्यको दिगो मार्ग तय गर्न पहिले आफ्नो वर्तमान अवस्थाको निष्पक्ष विश्लेषण हुनुपर्ने भन्दै उनले अनुभवी नीति निर्माता र युवा उद्यमीहरूको ऊर्जाबीचको दूरी मेटाउन मञ्च सधैँ प्रतिबद्ध रहेको बताए ।
छलफलका क्रममा सङ्घीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा अवरोध पुर्याइरहेका कानुनी बाधाहरू र नेपालको वाणिज्य क्षेत्रमा भइरहेका समसामयिक परिवर्तनबारे गम्भीर विमर्श गरिएको थियो । कार्यक्रमको विशेष प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका युवा प्रतिनिधिहरूले बजारको वर्तमान तरलता संकट, नीतिगत अस्थिरता र लगानीको असुरक्षित वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए ।
कार्यक्रमको औपचारिक समापन गर्दै मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले विज्ञहरूको अमूल्य सुझाव र योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।