काठमाडौं । जिल्ला अदालत काठमाडौंले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौंका भाष्करराज अर्यालसँग १०/१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग पाँच/पाँच लाख, नुवाकोटका प्रकाश ढुङ्गाना, काठमाडौंका अमृत बोहोरा, दोलखाका अनिल श्रेष्ठ, धादिङका टंककुमार श्रेष्ठ, सिरहाका स्वदेश पोखरेल र काठमाडौंका ऋषिकेश गौलीलाई जनही चार लाख धरौटीमा छाडन आदेश दिएको हो ।
अदालतले उक्त प्रकरणमा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसहितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख ११ गते पक्राउ गरी २२ जनालाई प्रतिवादी बनाइएको थियो ।