पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्यसहित कार्यक्रम ल्याइयोस्ः सांसद थेबे

0 Shares

काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख नआएको बताए।

उनले भने, ‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन सकेको छैन । लोककल्याणकारी राज्यको मूल मर्मलाई यो कार्यक्रमले आत्मसात् गरेको हो कि अस्वीकार गरेको हो ? नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र यस नीति तथा कार्यक्रममा कहाँ प्रतिविम्बित छ: यदि छैन भने के सरकार नवउदारवादी आर्थिक नीतिको दिशामा अघि बढ्न खोजेको हो ? राजस्व नीति के हो ? उत्पादनमुखी अर्थतन्त्रको आधार के हो ? रोजगारी सिर्जनाको स्पष्ट खाका कहाँ छ ?’

सरकारले डिजिटाइजेसन र रुपान्तरणकारी सुधारको कुरा गरे पनि केवल डिजिटाइजेसनले मात्रै अर्थतन्त्र रूपान्तरण नहुने बताए। नेपालमा रहेका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये मुख्य विमानस्थलमा अत्यधिक चाप रहेको तर अन्य दुई विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको बताए।

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८५ लाई प्रभावकारी बनाउन अर्को अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटनमैत्री सेवा र पूर्वाधारसहित एयरपोर्टका रूपमा सञ्चालन गर्नुपर्ने बताए।

उनले थपे, ‘नीति तथा कार्यक्रम नै राज्यको मूल नीति दस्तवेज हो भने फेरि अलग–अलग थरीका नीति पछि ल्याउने भन्ने कस्तो र किन ? यही दस्ताबवेजभित्र स्पष्ट कार्यान्वनयोग्य र परिणाममुखी कार्यक्रम आउनुपथ्र्यो । हरेक वडामा उद्यमशीलता प्रवर्धनका लागि सहुलियत कर्जा व्यवस्था गरियोस् । कम्तीमा आगामी पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्यसहित कार्यक्रम ल्याइयोस् ।’

सम्बन्धित समाचार