काठमाडौं । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलको टिकट बिक्री अन्तिम चरणमा पुगेको छ। यसपटक टिकटको मूल्य र बिक्री गर्ने तरिकाले गर्दा फुटबल फ्यानहरू निकै आक्रोशित र अचम्ममा परेका छन्।
विश्वकप फाइनल खेलको एउटा साधारण टिकटको मूल्य १० हजार ९९० डलर (झण्डै १४ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म पुगेको छ। फुटबल इतिहासमा आधिकारिक रूपमा बेचिएको यो अहिलेसम्मकै सबैभन्दा महँगो साधारण टिकट मानिएको छ। तुलनाका लागि सन् २०२२ को कतार विश्वकपको फाइनलमा सबैभन्दा महँगो टिकटको मूल्य करिब १६ सय डलर मात्र थियो।
सुरुमा विश्वकप आयोजक देशहरूले फाइनलको टिकट बढीमा १५ सय ५० डलरसम्म पर्ने बताएका थिए। तर अहिले बिक्री खुल्दा त्यो मूल्य कयौँ गुणा बढेर आएको छ। यसलाई फ्यानहरूले ‘ठूलो विश्वासघात’ भनेका छन्।
फिफाले यसपटक ‘डायनामिक प्राइसिङ’ भन्ने प्रणाली अपनाएको छ। यसको मतलब, टिकटको माग जति धेरै हुन्छ, फिफाले उति नै मूल्य बढाउँदै लैजान्छ। कुन खेलको टिकट कति हो भन्ने कुनै निश्चित दरभाउ छैन, जसले गर्दा फ्यानहरू अन्योलमा परेका छन्।