कर्णाली । आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी सहभागी उक्त परीक्षामा सहभागी हुन थालेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिए ।
उनले भने, ‘परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका नौ हजार ७७९ संलग्न हुने छन्, सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेका छन्, जहाँ परीक्षा केन्द्रमात्र चार छन् ।’
त्यस्तै, दैलेखबाट ६ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुम पश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा प्रमुख ढकालले बताए ।
उनका अनुसार जुम्लबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिने छन् । सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोटमा रुकुम पश्चिममा १६/१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।