नेप्सेसँगै बढ्यो कारोबार रकम, हाइड्रोपावर उप-समूहमा सर्वाधिक वृद्धि

0 Shares

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ११ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार १२ अर्ब ३ करोड रूपैयाँमा पुगेको छ।

यसदिन ३४० वटा धितोपत्रको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर किनबेच भएको हो। मंगलबार १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटाको घटेको छ। यस्तै, १७ कम्पनी स्थिर छन्।

यसदिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ। स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र साल्पा विकास बैंक र होटल फरेस्ट इनको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

सर्वाधिक मूल्य घट्नेमा एनआइसी एसिया ग्रोथ फण्ड २ रहेको छ। उक्त इकाइको मूल्य ४.७४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २४ पैसामा झरेको छ।

यसैगरी, ग्लोबल आइएमई सम्मुनत योजना २ को मूल्य ३।६१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ३५ पैसामा सीमित भएको छ।

मंगलबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३७० रूपैयाँमा ५६ करोड ३७ लाख रूपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ४११ रूपैयाँ ७० पैसामा ५१ करोड ७५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ।

यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढेको छ।

सम्बन्धित समाचार