भेरीमा बेपत्ता आशाको पनि शव फेला, छोराछोरी लिएर नदीमा हेलिएकी थिइन् माया

0 Shares

काठमाडौं । भेरी नदीमा बेपत्ता ११ वर्षीया आशा कठायतको शव फेला परेको छ । यसअघि सोमबार बेलुकी उनकी आमा ३८ वर्षीया माया कठायतको शव फेला परेको थियो ।

मायाले आफूसहित दुई छोराछोरीलाई लिएर नदीमा बेपत्ता भएकी थिइन् । अझै ५ वर्षीय छोरा दीपक कठायतको अवस्था अज्ञात छ ।

उनीहरू सुर्खेतको गुर्भाकोट गाउँपालिका १२ पिप्लेका बासिन्दा हुन् । मायाका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायत घरमै छन् ।

श्रीमान् श्रीमती झगडा भएपछि माया आफ्ना दुई सन्तान लिएर लेकबेँसी नगरपालिका ३ पटारेस्थित काकाको घरमा पुगेकी थिइन् ।

मायाले आइतबार बिहानै घर फर्किने बाचा गरेर काकाको घरबाट हिँडे पनि घर पुगेकी थिइनन् । त्यसपछि उनको खोजी सुरु भएको थियो ।

घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने सल, मोबाइल फोन, चप्पल र झोला फेला परेको थियो । त्यसपछि मायाले सन्तानसहित भेरी नदीमा हाम फालेको आशंकामा खोजी सुरु भएको थियो ।

बेपत्ता ५ वर्षीय छोरा दीपकको खोजी जारी छ । आमाले दुई सन्तानसहित भेरीमा प्रवेश गरेको घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार