काठमाडौं । यसपटकको प्रतिनिधि सभामा उपलब्ध तथ्याङ्कअनुसार, सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी देखिएका छन् । उनी ७८ वर्षीय भएकाले अन्य सांसदलाई शपथ गराउने छन्। संसदीय परम्पराअनुसार, ज्येष्ठ सदस्यलाई पहिले राष्ट्रपतिले शपथ गराउनेछन्। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउनेछन्।
संविधानको धारा ८८ अनुसार संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ। धारा ९१ ९५० अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ।
शपथ सम्बन्धी ऐन, २०७९ यस ऐन र संसदीय व्यवस्था अनुसार, सभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले नै सदस्यहरूलाई शपथ गराउने जिम्मेवारी पाउँछन्। नयाँ सभामुख र उपसभामुखको चयन नभएसम्म अर्जुन नरसिंह केसीले नै सदनको बैठक सञ्चालन गर्नेछन्। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ।
सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ।