काठमाडौं । नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार, फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, शहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गरिनेछ।
सम्झौताअनुसार, गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्स युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानको अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
त्यस्तै, भारतको नेसनल डिफेन्स युनिभर्सिटी र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तालिममा सहकार्य गर्ने समझदारी भएको छ। भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले नेपाली सरकारी अधिकारीलाई तालिम तथा प्रशिक्षण दिनेछन्।
आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको विकासमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन्।
स्याटेलाइट सञ्चारतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने समझदारी भएको छ।
यसैगरी, दिगो शहरी विकासमा प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा सहकार्य र पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासका लागि पनि दुवै देशबीच समझदारी भएको छ।
यी समझदारीले नेपाल–भारतबीच सुरक्षा, प्रविधि, स्वास्थ्य, प्रशासन र कृषि क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।