काठमाडौं । भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरी पहिलो पटक इच्छा मृत्युलाई अनुमति दिएको छ । भारतीय समाचारका अनुसार १२ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरिश राणा इच्छा मृत्युको अनुमति दिएको हो ।
हाल उनी लाइफ सर्पोट सिस्टमबाट मात्रै जीवित छन् । न्यायाधीशहरू जेबी पार्डीवाला र केभी विश्वनाथको संयुक्त इजलासले लामो समयदेखि बहस भइरहेको मुद्दामा यस्तो फैसला सुनाएको हो । फैसला उनकी आमा निर्मला र बाबु अशोक राणाको अपिलमा सुनाइएको जनाएको छ ।
अदालतले केन्द्र सरकारलाई निष्क्रिय इच्छा मृत्युबारे व्यापक कानुन बनाउने विचार गर्न भनेको छ । अदालतले बिरामीको उपचार भइरहेको एम्स अस्पताललाई उनको लाइफ सर्पोट प्रणाली क्रमिक रुपमा हटाउन निर्देशन दिएको छ ।
निष्क्रिय इच्छा मृत्यु भनेको बिरामी निको नहुने अवस्थामा जीवन बचाउन प्रयोग हुने उपकरण हटाउनु हो । यसले बिरामीको मृत्यु हुन पुग्छ ।