२ महिनामा ४ खर्बको वस्तु आयात, ६२ प्रतिशतले बढ्यो निर्यात

0 Shares

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा व्यापार घाटा सवा ३ खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौमा व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा २६ प्रतिशतले बढेको हो । गत वर्षको साउन र भदौमा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ व्यापार घाटा भएको विभागको भनाई छ ।

पछिल्लो २ महिनामा निर्यात उल्लेख्य रुपमा वृद्धि भएको छ । यस अवधिमा ७६ अर्ब ५८ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । अर्थात् चालु आवको २ महिनामा निर्यात ६१.८६ प्रतिशतले बढेको देखिन्छ ।

सोयाबिन तेलको निर्यात बढ्दा कुल निर्यात उल्लेख्य रुपमा वृद्धि भएको छ । दुई महिनामा ३६ अर्ब रुपैयाँको सोयाबिन तेल नै निर्यात भएको छ । ३८ अर्बको सोयाबिन तेल आयात भएको छ । नेपालमा धेरै आयात हुने वस्तुको सूचीको पहिलो नम्बरमा सोयाबिन तेल नै रहको छ ।

चालु आवको साउन र भदौमा ३१.५८ प्रतिशतले आयात वृद्धि भएको छ । २ महिनामा ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बढीको आयात भएको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ वस्तु तथा सेवा आयात भएको थियो ।

सम्बन्धित समाचार