काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन हुन ६ दिन मात्रै बाँकी छ । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो दल बन्ने दाबी गरेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा एमालेसमेत पहिलो शक्ति हुने दाबी गर्दै आएको छ ।
जेनजी आन्दोलनले अपदस्त तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेससहित दलको समर्थनमा सरकारको नेतृत्व गरेका थिए । जेनजी आन्दोलनकै बलमा अपदस्त एमाले आगामी फागुन २१ गते हुने निर्वाचनमा चौतर्फी मारमा परेको छ ।
चुनाव नजिकिएसँगै एमालेलाई रास्वपाले सबैभन्दा तारो बनाएको छ । त्यसमा पनि तत्कालीन प्रधानमन्त्री ओली निर्वाचित हुँदै आएको झापा ५ र महासचिव शंकर पोखरेलले निर्वाचन लडेको दाङ २ निसानामा परेको छ ।
यस्तै, एमालेका प्रायः नेतालाई लक्षित गरी रास्वपाले चुनावी रणनीति बनाएर मैदानमा उत्रिएको छ । कांग्रेस र नेकपाले पहिलेदेखि चुनावी प्रतिस्पर्धा मात्रै होइन, हरेक राजनीतिक कदममा एमालेसँग प्रतिस्पर्धा गर्दै आएका छन् । जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु हुनुका साथै ८४ अर्ब रुपैयाँको क्षति भयो । त्यति मात्र होइन स्कुलको पोसाक लगाएका १९ जना विद्यार्थीलाई एमाले नेतृत्वको सरकारले हत्या गरेको आरोप लगाएर रास्वपासहित दलको दाबी छ ।
एमाले चौतर्फी मारमा परेपछि पार्टी समर्थक, शुभचिन्तक खुलेर भोट माग्न सकेका छैनन् । एमालेलाई लामो समय भोट हाल्दै आएकासमेत मत फेर्ने अभिव्यक्ति दिँदै आएका छन् । एमाले चुनावमा २०४६ सालको मण्डले जस्तै हुन पुगेपछि जनताको अपार समर्थन पाउनेभन्दा आफ्नै नेता र कार्यकताको मत जोगाउन कठिन देखिएको छ । विं.सं. २०७९ सालको निर्वाचनमा एमाले २८ लाख ४५ हजार ६४१ मत पाएर पहिलो दल भएको थियो । जसबाट ३४ सांसद संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।
यद्यपि, संसदमा समर्ग रुपमा कांग्रेस पहिलो दल भएको थियो । जसले २७ लाख १५ हजार २२५ मत पाएर ३२ जना सांसद भएका थिए । तत्कालीन माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएर तेस्रो भएको थियो । जसबाट १४ जना सांसद हुने अवसर पाएका थिए । तत्कालीन एकीकृत समाजवादीले तीन लाख मत समानुपातिकमा कटाउन नसक्दा राष्ट्रिय दल बन्नबाट रोकिएको थियो । समानुपातिकमा रास्वपासहित यी दुई दलले आफू पहिलो बलियो हुने दाबी गर्दै आएका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनमा एमालेले समानुपातिक मत घट्ने आंकलन गरिसकेको छ । एमालेले ५ देखि ७ लाख मत घट्न सक्ने अनुमान गरेको छ । तर, प्रत्यक्षमा भने एमालेको यसअघिको भन्दा तल नहुने दाबी गर्दै आएको छ । एमालेको संगठन बलियो अरु पार्टीको भन्दा छ भन्ने सबै पार्टीका नेता कार्यकर्ताले स्वीकार गरेका छन् ।
तर, एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यो निर्वाचनमा एमाले बलियो शक्ति बनेर आउने दाबी गरेका छन् । देश जोगाउन एमालेलाई जनताले मत दिएर जनताले साथ दिनुपर्ने बताए ।
एमाले जेनजी आन्दोलनपछि चौतर्फी मारमा परेपछि एमाले प्रत्यक्ष र समानुपातिक दुवैमा कमजोर हुने नेकपाको विश्लेषण छ । नेकपाले एमाले फागुन २१ गतेको निर्वाचनमा कमजोर हुने भएकाले संसदको पहिलो नभए पनि कम्युनिष्ट पार्टीको पहिलो हुने अनुमान छ ।
एमालेका अध्यक्ष ओलीले नेतृत्व छाडेको भए थोरै भए पनि राहत हुने अवस्था देखिएको थियो । ओली नै पार्टीको नेतृत्वमा आएपछि पार्टीलाई संसदमा बलियो शक्ति रुपमा अघि आउन निक्कै कठिन देखिएको छ ।