काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली र स्कटल्यान्ड आज अन्तिम खेल खेल्दै छ । समूह चरणको अन्तिम खेल मुम्बइको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ ।
सुरुवाती ३ खेलमा लगातार हार भोग्दै सुपर ८ दौडबाट बाहिरिसकेको नेपाली टोली मंगलबारको खेलमा स्कटल्यान्डविरुद्ध मैदान उत्रदा सुखद् अन्त्यको योजनामा छ ।
नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो । तेस्रो खेलमा वेस्ट इण्डिजसँग ९ विकेटको हार भोग्नु परेको थियो ।
सोमबार दिउँसो भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २४ रनले हराउँदै सुपर ८ मा पुगेपछि स्कटल्यान्डको सम्भावना पनि सकिएको हो ।
पहिलो खेलमा वेस्ट इण्डिजसँग ३५ रनले पराजित भएको स्कटल्यान्डले दोस्रो खेलमा भने इटालीलाई ७३ रनले हराएको थियो । समूह चरणको तेस्रो खेलमा इंल्यान्डसँग ५ विकेटको हार भोगेको थियो ।
नेपाल रहेको समूहबाट वेष्ट इण्डिज र इंग्ल्यान्डले सुपर ८ मा स्थान बनाएपछि स्कटल्यान्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिएका छन् ।
विश्वकपमा अहिलेसम्म सुपर ८ मा पुग्ने ५ टोलीको टुंगो लागिसकेको छ । बाँकी ३ टोलीको टुंगो लाग्न बाँकी छ ।
गोरक्ष पोस्ट