काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुन-चाँदीको मूल्य बढेको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ७८ हजार रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला चार हजार रूपैयाँ महँगो हो। आइतबार भने सुन दुई लाख ७७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबारको तुलनामा सोमबार भने सुन प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको हो। यस्तै, सोमबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार तोलामा पाँच हजार ६ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।