मिलन एमसी सहित नेकपाबाट दुई दर्जन बढी यूवा प्रतिनिधिसभा निर्वाचनमा छनोट, कहाँबाट को ?

0 Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट आगामी निर्वाचनमा थुप्रै नयाँ अनुहार चुनावी मैदानमा होमिने भएका छन् ।

मिलन एमसी सहित विभिन्न ४० वर्ष मुनीका दुई दर्जनभन्दा धेरै यूवा नेताहरुलाई नेकपाले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सिफारिस गरेको हो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट आगामी निर्वाचनमा नयाँ अनुहार चुनावी मैदानमा होमिने यूवाहरुमा अखिल क्रान्तिकारीको केन्द्रीय उपध्याक्षसँगै प्रवक्ताको जिम्मेवारी सम्हालेका मिलन एमसी, अखिल क्रान्तिकारीका अर्का पूर्वअध्यक्ष रञ्जित तामाङ, विद्यार्थी राजनीतिबाट उदाएका लेखनाथ न्यौपाने, अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापा, क्रान्तिकारीका पूर्वउपाध्यक्ष नरेश रेग्मी, युवा नेता अशेष घिमिरे, वाईसीएल नेपालको इन्चार्ज रामप्रसाद सापकोटा, अनेरास्ववीयु क्रान्तिकारीका पूर्वअध्यक्ष सुदेश पराजुली, रमेश मल्ल, पूर्वउपाध्यक्ष विजय गौतम, रामदीप आचार्य, युवा संघका संयोजक नितेश पौडेल, वाईसीएलका अध्यक्ष पुष्प वली, वाईसीएलका उपमहासचिव नरबहादुर विष्ट, सिर्जना त्रिपाठी, विनय थापा, मनहरी तिमिल्सेना, विश्वदीप पाण्डे ,रवि कँडेल, राजेन्द्र विक, फजअहमद खाँ, नरेन्द्र पाण्डे, योगकुमार बरबरिया यादव, विशुनदेव यादव, शिला खनाल, प्रकाश मिश्र, कमल थापा सिफारिस भएका हुन् ।

दलहरूले समानुपातिकतर्फको उम्मेदवार सिफारी गरेसँगै अब प्रत्यक्षबाट आफ्नो उम्मेदवार छनोटमा केन्द्रीत भएका छन् । निर्वाचन आयोगले यहि माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्दैछ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली कांग्रेस।नेकपा एमाले गठबन्धनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोली पदच्युत भएसँगै देश मध्यावधि निर्वाचनमा पुगेको हो । जेनजी आन्दोलनबाट देशको राजनीति नयाँ परिस्थितिमा होमिएसँगै नयाँ अनुहार चुनावी मैदानमा होमिने भएका हुन् ।

नेकपाबाट आगामी निर्वाचनमा तत्कालीन माओवादीको विद्यार्थी राजनीतिबाट उदाएका लेखनाथ न्यौपाने गोरखा २ बाट सिफारिस भएका छन् । विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारीका अध्यक्षदेखि पार्टी राजनीतिमा होमिएका उनले अहिलेसम्म कुनै सरकारी पदको लाभ लिएका छैनन् । आफूलाई बौद्धिक नेताका रुपमा स्थापित गराएका उनी आगामी निर्वाचनमा होमिन नयाँ अनुहार हुन् ।

गोरखा २ बाट प्रतिनिधिसभामा सिफारिस भएसँगै न्यौपानेले पहिलो पटक चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन् । उनको क्षेत्र नेकपाको प्रभावित रहेको छ । विं।सं। २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए ।

यस्तै, अखिल क्रान्तिकारीका अर्का पूर्वअध्यक्ष रञ्जित तामाङ झापा क्षेत्र ५ बाट सिफारिस भएका छन् । पूर्वमाओवादीको झापा जिल्ला समितिको इन्चार्जसमेत रहेका उनी अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । उनी सिफारिस क्षेत्रमा एमाले अध्यक्षसमेत रहेका ओलीले पनि चुनाव लड्दै आएका छन् । उनी यस क्षेत्रबाट पटक(पटक विजयी हुँदै देशको नेतृत्वदायी भूमिकामा पुगेका छन् । जेनजी आन्दोलन हुँदा उनी प्रधानमन्त्री थिए ।

नेकपाबाट चुनावी मैदानमा होमिएका अर्का नयाँ अनुहार हुन्, मिलन एमसी । अखिल क्रान्तिकारीको केन्द्रीय उपध्याक्षसँगै प्रवक्ताको जिम्मेवारी सम्हालेर उमेर हदले बाहिरिएका उनी प्युठानबाट सिफारिस भएका हुन् । नेकपाले उनलाई आगामी निर्वाचनका लागि ४० वर्ष मुनीका युवातर्फबाट सिफारिस गरेको हो । जेनजी आन्दोलनको प्रभाव रहँदा उनी प्रमुख दाबेदारका रुपमा छन् ।

विद्यार्थी संगठनको केन्द्रीय सचिव, उपमहासचिव हुँदै उपाध्यक्ष बनेका उनी पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । प्युठानको झिमरुक गाउँपालिका निवासी उनले स्पष्ट वक्तासँगै नेतृत्ववान नेताका रुपमा आफूलाई स्थापित गराएका छन् । पछिल्लो समय आफ्नो चुनावी क्षेत्रमा राजनीतिक गतिविधि गर्दै आएका उनी आफ्ना मतदाताको सेवामा तल्लिन छन् ।

विं।सं। २०७४ तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले एकता हुँदा उनी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निकट थिए । यसैबीच सर्वोच्च अदालत ३३ महिनापछि यी दुई पार्टीलाई ब्यूँताएपछि उनी माओवादीमा बसेका थिए । आफू निकट नेता बादललाई छाडेर माओवादीमा बसेका उनले पार्टी संगठन विस्तारमा खटिदै आएका थिए ।

यसैगरी काठमाडौँ १ बाट अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापा सिफारिस भएका छन् । उनी गत फागुनमा भएको क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा विजयी भएका थिए । उनी क्रान्तिकारीको वर्तमान नेतृत्वमा अध्यक्षनशील र तार्किक नेतामा स्थापित छन् । माओवादी र एमाले विभाजन भएपछि एमालेमा बसेर मन्त्री पदमा आसिन बादलसहित टोपबहादुर रायमाझीलगायतका ६ जना मन्त्री विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमाथि फैसला गर्दा थापा, रायमाझीलगायतको मन्त्री पद गएको थियो ।

झापा क्षेत्र नम्बर १ बाट युवा नेता अशेष घिमिरे सिफारिस हुँदा अखिल क्रान्तिकारीमा उमेरहद लागेर अध्यक्षको उम्मेदावर बन्न बञ्चित क्रान्तिकारीका पूर्वउपाध्यक्ष नरेश रेग्मी दाङ ३ बाट सिफारिस भएका छन् । यनी पार्टीभित्र अध्ययनशील र तर्कशीलमा गनिन्छन् ।

पार्टी केन्द्रीय सदस्य तथा योङ कम्युनिस्ट लिग नेपाल ९वाईसीएल० नेपालको इन्चार्ज रामप्रसाद सापकोटा भक्तपुर २ बाट सिफारिस भएका छन् । उनी वाईसीएलका पूर्वअध्यक्ष समेत हुन् ।

अनेरास्ववीयुका पूर्वअध्यक्ष सुदेश पराजुली भोजपुर र काठमाडौँ ६ दुई ठाउँबाट सिफारिस भएका छन् । यस्तै, काठमाडौँ ७ बाट युवा संघका पूर्वउपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य फुर्वा तामाङ सिफारिस भएका छन् ।

मकवानपुर क्षेत्र १ बाट क्रान्तिकारीका पूर्वउपाध्यक्ष विजय गौतम सिफारिस हुँदा युवा संघका संयोजक नितेश पौडेल काठमाडौं २ बाट सिफारिस भएका छन् । वाईसीएलका अध्यक्ष पुष्प वली पनि दाङ ३ बाट सिफारिस भएका छन् । उनी गत जेठमा वाईसीएलको सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

२०५९ सालमा उनी विद्यार्थी संगठनमा पूर्णकालीन भई जनयुद्धमा सक्रिय सहभागी भए । २०६१ सालमा तत्कालीन माओवादीका उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रका जिल्लामा सक्रिय सहभागी भए ।

२०६२ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही नगर निर्वाचन घोषणा गरे । त्यतिबेला उनी नगर निर्वाचन बिथोल्न माओवादी सशक्त रुपमा सहभागी हुँदा तनहुँको डुम्रेमा आन्तरिक रुपमा बम विस्फोट भई गम्भीर घाइते भएका थिए ।

उनको आँँखा, मुख, हात, खुट्टमा गोली लागेको थियो । उनी शरीरमा अहिले पनि गोलीका झर्रा बाकेर हिँडेका छन् । हाल सुवोध श्रीपालीको कार्यकालमा उपमहासचिव भई काम गर्ने अवसर पाए । अधिकांश वाइसिएल नेताहरू ४० वर्षे उमेर हद लागेर बिदा भएपछि ओलीले सर्वसम्मत अध्यक्ष बन्न अवसर पाएका हुन् । उनी पनि अहिलेसम्म कुनै सरकारी लाभको पदमा पुगेका छैनन् ।

यसैगरी, कास्की ३ बाट सिर्जना त्रिपाठी प्रत्यक्षमा सिफारिस भएकी छन् । उनी पनि अहीलेसम्म लाभको पदमा नजाने पूर्वमाओवादी भित्रकी युवामा पर्छिन् । कास्की १ बाट विनय थापा सिफारिस हुँदा मनहरी तिमिल्सेना पवर्तबाट सिफारिस भएका छन् । तिमिल्सेना लामो समय नेकपाका संयोजक प्रचण्डको सचिवालयमा काम गरेका हुन् ।

विश्वदीप पाण्डे रुपन्देही २ बाट प्रत्यक्षमा सिफारिस हुँदा गुल्मीबाट रवि कँडेल, पाल्पाबाट राजेन्द्र विक, रुपन्देही ३ बाट फजअहमद खाँ प्रत्यक्षमा सिफारिस भएका छन् ।

बाँके १ बाट नरेन्द्र पाण्डे सिफारिस हुँदा योगकुमार बरबरिया यादव धनुषा २ बाट सिफारिस भएका छन् । सिरहा ३ बाट विशुनदेव यादव र बाराबाट शिला खनाल सिफारिसमा परेका छन् । कैलाली क्षेत्र नंं ३ बाट प्रकाश मिश्र सिफारिस भएका छन् । उनी पूर्वमाओवादीको सुदूरपश्चिम प्रदेश समिति सदस्य हुन् ।

क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल सल्यानबाट सिफारिस भएका छन् । उनी क्रान्तिकारीमा स्कुल पढ्दादेखि संगठित थिए । उनले पनि प्रचण्डको सचिवालयमा बसेर लामो समय काम गरेका छन् ।

जाजरकोटबाट क्रान्तिकारीका पूर्वउपाध्यक्ष रामदीप आचार्य सिफारिस हुँदा बझाङबाट कमल थापा सिफारिस भएका छन् । वाईसीएलका उपमहासचिव नरबहादुर विष्ट दार्चुलाबाट सिफारिस भएका छन् । उनीहरू सबै जना पहिलो पटक चुनावमा होमिने भएका हुन् ।

सम्बन्धित समाचार