काठमाडौं । एक पुरूषले १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको छ।
स्कुलमा बालिका बेहोस भएर ढलेपछि उपचारका लागि वीर अस्पताल पुर्याउँदा उनीमाथि बलात्कार भएको खुलेको हो । सिन्धुपाल्चोक स्थायी घर भएका बालिकाको परिवार काठमाडौं कालिमाटीमा डेरा गरी बस्दै आएका थिए।
बालिकाको ३७ वर्षीय बुवा गाडी चलाउँछन्। आमा बिहान-बेलुका चिया बेच्छिन्। बालिकाको एक भाइ छ। बुवाले गाडी चलाउन सिकाउने भन्दै विभिन्न ठाउँमा लिएर जाने गरेको बालिकाले सरकारी वकिल कार्यालयमा दिएको बयानमा बताएकी छन्।
‘गाडी चलाउन सिकाउने भनेर विभिन्न ठाउँमा लिएर जानुहुन्थ्यो, घुम्न जाँदा मेरो साथीहरूलाई गर्लफ्रेन्ड बनाइदिनुपर्यो भनेर भन्नुहुन्थ्यो,’ बालिकाले बयानमा भनेकी छन्, ‘मसँग यौन सम्बन्धी कुरा गर्ने जिस्किने, चिमाट्ने र शरीर छुने गर्नुहुन्थ्यो।’
ती पुरूषले पनि छोरीलाई साथी जस्तो व्यवहार गर्ने, गलफ्रेन्ड बनाउन, शरीरमा छुने र यौन सम्बन्धी कुरा गर्ने गरेको स्वीकार गरी बयान दिएका छन्।
२०८२ असोज १३ गते राति १२ बजेतिर घर फर्किँदा बालिका सुतिसकेकी थिइन्। ‘आमा सँगै सुतेको थिएँ, बुवाले खाटबाट भुइँमा लगि बलात्कार गर्नुभयो,’ बालिकाले बयानमा भनेकी छन्, ‘चिच्याउन खोज्दा मुख थुन्नुभयो।’
ती पुरूषले पनि आफूले छोरीलाई बलात्कार गरेको स्वीकारेका छन्। प्रहरी समक्ष उनले आफूले छोरीलाई कसैलाई भनेमा मारेर फालिदिने धम्की दिएको पनि स्वीकारेका छन्।
त्यही डरले बालिकाले आमालाई पनि आफूमाथि भएको घटनाबारे सुनाउन सकेकी थिइनन्। दोस्रो दिन बुवाले माफी मागेर एउटा सेतो चक्की औषधि खुवाएको बालिकाको भनाइ छ।
‘बुवाले मारेर फालिदिने डरले कसैलाई भन्न सकेको थिइनँ। त्यसैले दोस्रो पटक पनि प्रयास गर्नुभयो,’ उनले भनेकी छन्। ‘बुवाले पटकरपटक बलात्कार गर्न खोजेको कुराले भित्रभित्र डराइरहेको थिएँ। त्यही कुराले पीरले बेहोस भएर लडेछु,’ उनले भनिन्।
उनी मंसिर २१ गते दिन दिउँसो विद्यालयमै बेहोस भएकी थिइन्। विद्यालयमा बेहोस भएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याएपछि स्कुलले उनकी आमालाई जानकारी गराएको हो। ‘अस्पतालमा पुगेपछि चिकित्सकहरूले पनि सोधिरहेका थिए। आमा भेटेपछि साँझ घटनाबारे सबै सुनाएको हुँ,’ बालिकाले भनेकी छन्।
उनले अस्पतालमा आमालाई घटनाबारे जानकारी गराएपछि कानुनी प्रक्रिया अगाडि बढेको हो। बालिकाको बुवालाई मंसिर २६ गते पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाएको थियो।