काठमाडौं । नेपाली हिपहप संगीतलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित चर्चित भारतीय र्याप सङ्गीतसम्बन्धी वास्तविकता प्रदर्शन कार्यक्रम ‘एमटीभी हसल’को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ।
‘टीभीएस एनटर्क प्रस्तुत हसल बाई नेपहप’ नाममा सञ्चालन हुने यो कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गरिनेछ। आयोजकका अनुसार कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको अवधारणामा आधारित स्तरीय र्याप सङ्गीतसम्बन्धी वास्तविकता प्रदर्शन कार्यक्रमका रूपमा विकास गर्ने तयारी गरिएको छ।
अन्तर्राष्ट्रिय कार्यक्रमको अवधारणाबाट प्रेरित भए पनि ‘हसल बाई नेपहप’को मुख्य विशेषता नेपाली मौलिकता रहनेछ। यसमा नेपाली कलाकारका व्यक्तिगत कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिपहप पहिचानलाई प्राथमिकता दिइनेछ। नेपाली समाज र युवापुस्ताको आवाजलाई सङ्गीतमार्फत राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रतिस्पर्धा, मार्गदर्शन र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई विशेष महत्त्व दिइनेछ। स्थापित र्याप सङ्गीतकर्मीदेखि नयाँ पुस्ताका प्रतिभासम्मले आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाउनेछन्। यसले नेपाली हिपहप क्षेत्रमा रहेका नयाँ प्रतिभाको पहिचान गर्न र उनीहरूलाई राष्ट्रियस्तरमा स्थापित हुन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपाली युवापुस्तामाझ हिपहप सङ्गीत र संस्कृतिको आकर्षण बढ्दै गइरहेका बेला टीभीएस एनटर्कले यस कार्यक्रमसँग सहकार्य गरेको हो। युवाको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ सोचसँग आफ्नो ब्रान्डको सम्बन्ध रहेको उल्लेख गर्दै कम्पनीले नेपाली हिपहप क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको जनाएको छ।
‘गल्लीदेखि गौरवसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाई नेपहप’ले सामान्य परिवेशबाट आएका प्रतिभालाई आफ्नो कला देखाउने ठूलो मञ्च प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ। कार्यक्रमले नेपाली हिपहप सङ्गीतको मौलिकता, सम्भावना र नयाँ पुस्ताको सिर्जनात्मक क्षमतालाई राष्ट्रियस्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममार्फत नेपाली र्याप सङ्गीतमा नयाँ प्रतिभा भित्र्याउनुका साथै यस विधालाई मनोरञ्जनको सीमाभन्दा बाहिर पुर्याएर सांस्कृतिक पहिचान र अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रमको प्रसारण मिति, सहभागी छनोट प्रक्रिया, निर्णायक तथा मार्गदर्शकको विवरणलगायत अन्य जानकारी भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।