काठमाडौं । एमालेको आगामी पदाधिकारी टिममा महिलाको प्रतिनिधित्व नाजुक हुने देखिएको छ । निर्वाचन परिणाम अनुसार महिलाबाट पद्मा अर्याल मात्रै सेफ जोनमा छिन् ।
१९ पदाधिकारीका लागि ४२ जनाले उम्मेदवारी दिएकोमा महिला ४ जना मात्रै थिए । उपाध्यक्षमा ईश्वर पोखरेलको प्यानलबाट बिन्दा पाण्डे, सचिवमा संस्थापन पक्षबाट पद्मा अर्याल र सचिवमै पोखरेल प्यानलबाट रचना खड्काले उम्मेदवारी दिएका हुन् । यस्तै पेम्बा लामा ‘स्वतन्त्र’ उम्मेदवार बनेकी थिइन् । उनीहरूमध्ये पाण्डे, खड्का र लामा प्रतिस्पर्धामा पछाडि परेका छन् । पद्मा अर्याल भने जितको नजित छिन् ।
पद्मा यसअघि पनि सचिव नै थिइन् । अहिलेको चुनावमा उनले सचिवमा लोकप्रिय मत पाइरहेकी छन् । पहिलो स्थानका लागि महेश बस्नेत र छविलाल विश्वकर्मासँग उनको टक्कर भइरहेको छ । सचिवका अन्य २ महिला उम्मेदवार खड्का र लामा भने टप ९ मा अटाउन सकेका छैनन् ।
उपाध्यक्षमा पाण्डेको अवस्था पनि नाजुक छ । ११ जना सचिवका उम्मेदवारमध्ये उनी अहिलेसम्म आठौं स्थानमा छिन् । उपाध्यक्षमा निर्वाचित हुन टप ५ मा पर्नुपर्छ ।
एमालेको पदाधिकारी टिममा यसअघि दुई महिला अष्टलक्ष्मी शाक्य र पद्मा अर्याल थिए । अष्टलक्ष्मीले पुस्तान्तरणको वकालत गर्दै यो महाधिवेशनमा प्रतिस्पर्धा गर्न चाहिनन् । अबको नेतृत्वमा महिला पद्मा मात्रै रहने अवस्था देखिएको छ ।