काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार भृकुटीमण्डपमा सम्बोधन गर्दै सभापति लामिछानेले आफूले अहिले सरकार ढल्छ,ढल्छ भन्ने सुन्न थालेको भन्दै उनले सरकार नढल्ने बरु सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेपछि आफै ढल्न थालेको बताए ।
‘सरकार अहिले ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ कि भनेको सुन्छु’, लामिछानेले भने, ‘ढल्न त ढल्छ, तर यो सरकार नढलेको देखेर भन्ने मान्छे चाहिँ बेहोस भएर ढल्छ । सरकार विल्कुल ढल्दैन । पाँचै वर्ष चल्छ ।’
उनले इतिहासलाई साक्षी राखेर सरकार गठन गरेको दाबी गर्दै लोकतन्त्रको रक्षा गर्ने कुरामा चिन्ता नगर्न पनि आग्रह गरे ।
मिलेरै अघि बढ्ने भन्दै उनले पहिचान र अधिकारका मुद्दा स्थापित गर्ने सभापति लामिछानेले बताए । उनले आन्दोलनबाट सरकार ढाल्नेतिर नलाग्न दलहरूलाई आग्रह गर्दै भने, ‘लोकतन्त्रलाई निर्वाचनको माध्यमबाट मात्र बलियो बनाउन सकिन्छ ।’