काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जस्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा ‘सिईओ क्लब सदस्य सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशका ११५ जना र सुदूरपश्चिम प्रदेशका १६१ जना गरी कुल २७६ जना योग्य अभिकर्तालाई सम्मान गरेको हो। कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा लुम्बिनी प्रदेश अन्तर्गतका शाखा प्रमुखको समेत उपस्थिति थियो।
कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सिईओ क्लबका सदस्य बन्न सफल अभिकर्तालाई सदस्यता प्रमाणपत्र र सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ। साथै, आफ्नै कोड तथा सञ्जालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका अभिकर्तालाई विशेष पुरस्कारसहित सम्मान गरिएको थियो।
यसैगरी, नेशनल रत्न तथा नेशनल स्टार अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाले सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए।
खत्रीका अनुसार कम्पनीले अभिकर्ता–मैत्री योजनाको रूपमा सुरु गरेको सिईओ क्लब सदस्यता योजना अत्यन्त सफल बनेको छ, जसअन्तर्गत हाल देशभरबाट १६०० बढी अभिकर्ता छनोट हुन सफल भएका छन्। प्रदेश–स्तरीय सम्मान कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा पहिलो कार्यक्रम सम्पन्न भइसकेको र दोस्रो चरणमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका अभिकर्तालाई सम्मान गरिएको बताइएको छ। बाँकी प्रदेशमा पनि यस्ता कार्यक्रम निरन्तर गर्दै लगिने कम्पनीको योजना छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले अभिकर्तालाई विशेष तालिम प्रदान गरेका थिए। उनले जीवन बीमा व्यवसायमा उत्कृष्टता हासिल गर्नका लागि निरन्तर व्यक्तिसँग सम्पर्क विस्तार र बीमा योजनाको प्रस्तुतिमा दक्षता आवश्यक हुने बताए।
सम्मान र तालिम प्राप्त गरेका अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान पाउनु आफैंले गरेको मेहनतको कदर भएको अनुभूति भएको र अन्तर्राष्ट्रिय स्तरको तालिमले आगामी दिनमा पेशालाई अझ व्यवसायिक रूपमा अघि बढाउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।