जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीन जना पक्राउ

0 Shares

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौंको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौं बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ । पक्राउ रसिल जोशी लागू औषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार