नाइजेरियाको स्कुलबाट अपहरणमा परेका ५० बालबालिका उम्कन सफल

0 Shares

काठमाडौं । नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट बन्दुकधारीले लगेका तीन सयभन्दा बढी बालबालिकामध्ये ५० जना अपहरणकारीबाट भागेको एक इसाई समूहले आइतबार जनाएको छ।

नाइजरमा सबैभन्दा ठूलो सामूहिक अपहरणको घटना भएको नाइजर राज्यको ‘सेन्ट मेरिज को एजुकेशन स्कुल’मा बन्दुकधारीले शुक्रबार छापा मारेर ३०३ बालबालिका र १२ शिक्षकलाई अपहरण गरी लगेका थिए ।

छिमेकी केब्बी राज्यको एक माध्यमिक विद्यालयमा बन्दुकधारीले आक्रमण गरी २५ जना बालिकालाई अपहरण गरेको केही दिनपछि यो अपहरण भएको हो ।

क्रिश्चियन एसोसिएसन अफ नाइजेरियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले केही राम्रो समाचार पाएका छौँ पचास जना विद्यार्थीहरू भागेका छन् र उनीहरू आफ्ना अभिभावकसँग पुनर्मिलन भएका छन् ।’

सेन्ट मेरिजबाट अपहरण गरिएका आठ देखि १८ वर्ष उमेरका केटा र केटीहरूको संख्या स्कुलको कुल विद्यार्थी संख्या ६२९ को लगभग आधा हो ।

नाइजेरियाली सरकारले अपहरणमा परेका विद्यार्थी र शिक्षकको संख्याबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

नाइजर राज्यका क्यानका अध्यक्ष रेवरेन्ड बुलस दाउवा योहन्नाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘५० जना बालबालिका फर्केर राहत महसुस गरिएको छ र बाँकी पीडितको उद्धार र सुरक्षित फिर्तीका लागि प्रार्थना जारी राख्न म तपाईंहरू सबैलाई आग्रह गर्दछु ।’

अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देशमा बढ्दो सुरक्षा डरका कारण देशभरि विद्यालय बन्द हुने क्रम बढेको छ ।

सम्बन्धित समाचार