झापामा चार महिनामा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु

0 Shares

झापा । पछिल्लो चार महिनामा झापामा सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् । कूल ६७० जना सामान्य घाइते भएका छन् ।

असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुई पाङ्ग्रे सवारी साधन संलग्न छन् ।

प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटनामा सवारी साधनको संख्या भने ४८८ छन् । तीमध्ये दुई पाङ्ग्रे ३२६, चारपाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२ र पहिचान हुन नसकेका तीन वटा सवारी साधन रहेका उनले जानकारी दिए ।

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार १०५ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो । सोबापत कार्यालयले ५९ लाख ८१ हजार ५३३ राजस्व संकलन गरेको छ ।

सम्बन्धित समाचार