आज मिति २०८२ असोज २० गते सोमबार । सन् २०२५ अक्टोबर ६ तारिख । नेपाल सम्बत ११४५ कौलाथ्व चतुर्दशी, पुर्णिमा तिथि । आज बिहान ५ बजेर ५९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ४६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ला । अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । खर्च केही बढ्ने देखिन्छ ।
बृष
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने दिन छ । शत्रु र रोगबाट छुटकारा मिल्ने देखिन्छ । रोकिएका काम मातृसहयोगको माध्यमबाट बनाउन सकिनेछ । जथाभावी आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउन सक्छ, विशेष सावधानीको खाँचो छ ।
मिथुन
दिन उत्साहपूर्ण रहनेछ । स्रोत–साधन जुट्नाले दिगो फाइदा हुनेछ भने सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिने छ ।
कर्कट
कर्मबल वृद्धिका साथै साथीभाइको सहयोग प्राप्त हुने समय छ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा भने विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
सिंह
आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुन सक्छ, तर इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने देखिन्छ । नियमित कार्यमा भने ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिने छ ।
कन्या
आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुने देखिन्छ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् ।
तुला
नयाँ योजना कार्यान्वयनमा ल्याउन विशेष मेहनत गर्नुपरे पनि राम्रै धन आर्जन गर्ने समय छ । साथीभाइको साथले पराक्रम बढ्नेछ । आरोग्यबल वृद्धि होला । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । मिठो भोजन प्राप्त हुनेछ । यश–वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक
व्यस्तता तथा दौडधुप बढ्ने तर उपलब्धि सामान्य रहने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुन सक्छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नाले परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । कृषि कर्मबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा पनि समस्या आउने योग छ । जोखिम बढ्नेछ । यसका बाबजुद बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ ।
धनु
आरोग्य बल बढ्नेछ भने आयआर्जनका स्रोत अभिवृद्धि होला । व्यापारमा पनि राम्रै फाइदा हुनेछ र विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता मिल्नेछ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनुहोला ।
मकर
दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ, तर रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कुम्भ
शुभचिन्तकहरूले साथ दिनाले विभिन्न अवसर पाइने र आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने देखिन्छ । बौद्धिक कार्यबाट राम्रै धनलाभ होला । आजको दिन अरूको फाइदाका लागि उपयोग भइने सम्भावना पनि छ । काम बिग्रने डरले सताउन सक्छ ।
मीन
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । प्रतिष्ठित कामले कीर्तिमानी दिलाउने सम्भावना छ । तर, सहयोगीहरूको मात्र भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला ।