आज मिति २०८३ साल असार १० गते बुधबार । सन् २०२६ जुन २४ तारिख । नेपाल संवत् ११४६ । जेठ शुक्लपक्षको दशमी तिथि । अपरान्ह १२ बजेर ६ मिनेटदेखि १ बजेर ४९ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्नुहुन अनुरोध छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
व्यावसायिक काममा खर्च बढ्ने समय छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले खिन्नता उत्पन्न गराउने सम्भावना छ । आलस्यका कारण कामहरु अधूरै रहन सक्छन् । मान(सम्मानमा पनि आघात पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगीहरूले हात झिक्नाले नियमित कार्यमा केही समस्या थपिने देखिन्छ ।
बृष
सामाजिक एवम् पारिवारिक उत्तरदायित्व वहन गर्ने समय छ, धैर्यले काम लिने प्रयत्न गर्नुहोला । रोकिएका कामहरू सम्पादन हुनेछन् । मानप्रतिष्ठा वृद्धि हुनुका साथै घरपरिवारमा राम्रै सम्बन्ध बन्नेछ भने पारिवारिक आवश्यकता पूर्ति हुने देखिन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला ।
मीथुन
विभिन्न अवसर पाइने समय भएपनि पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना छ । तथापि, मित्रजनले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । केही मात्रामा खर्च वृद्धि होला ।
कर्कट
बाध्यतापूर्ण काममै समय बित्नसक्ने दिन छ । स्वास्थ्य कमजोर रहेको अनुभूतिका बाबजुद जिम्मेवारी बढिरहनेछन् भने सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । दाम्पत्य सम्बन्धमा पनि असमझदारी बढ्ने योग रहेकोले सावधानी अपनाउनु हितकर हुनेछ । अनावश्यक रूपले समय र धन खर्च हुनसक्ने सम्भावना रहेकोले विशेष सजगताको दरकार छ ।
सिंह
पराक्रम बढ्ने एवम् भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिने योग छ । प्रेममा सुखद मिलन अनुभव हुनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्ने देखिन्छ ।
कन्या
आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । यात्राका क्रममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग होला । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहेको अनुभूतिका बाबजुद दैनन्दिन परिश्रमबाट मुक्ति मिल्न नसक्ने योग छ ।
तुला
विगतका कमजोरीलाई सुधार गर्दै लाभदायी कर्मका साथ अघि बढ्ने समय छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।
वृश्चिक
निर्णायक क्षमतामा कमी आउने र काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीले नै तपाईंको कमजोरीप्रति टीकाटिप्पणी गर्न सक्छन् । नसोचेको ठाउँमा धनको नाश हुने सम्भावना छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । नियमित कार्यमा पनि चुनौतीको सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ ।
धनु
सानातिना कार्य तथा घरेलु समस्यामा अल्झनुपर्ने समय छ । स्वास्थ्यले पनि पूरै साथ नदिन सक्छ । श्रमको उचित परिणाम प्राप्तिको लागि निकै जोड लगाउनुपर्ला । सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारी समेत बहन गर्नुपर्ने योग छ । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् ।
मकर
आजको दिन चल(अचल सम्पत्तिको विशेष कारोबार हुनसक्छ । नियमित कार्यमा सहजता आउनेछ भने समय उत्साहवर्द्धक र मनोरञ्जनपूर्ण रहला । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । पितृधन समेत लाभ हुने योग छ । कामको सिलसिलामा फलदायी यात्राको सम्भावना छ । व्यापार व्यवसायमा विशेष लाभ मिल्ला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
कुम्भ
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिएपनि धैर्यले काम लिनुपर्ने समय छ । चुनौतीका बाबजुद नसोचेको सफलता हातलग्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् भने परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । योजना र बजेट बनाएर मात्र आर्थिक कारोबार गर्नु हितकर हुनेछ ।
मीन
व्यवसायिक कार्यमा लगानी वृद्धि हुने समय छ । केही मात्रामा खर्च बढ्ने देखिन्छ । प्रयास गर्दा रोकिएका काम बन्ने छन् । समस्यामा मातापिताको विशेष सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्ने देखिन्छ । अरूको मात्र भरपर्दा धोकामा परिने सम्भावना रहेकोले सजग रही कार्य(ब्यवहार गर्नुहोला । ब्यस्तता बढ्ने छ ।