काठमाडौं । नेपालीको महान पर्व दसैं नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्दो छ । तर, पश्चिम नेपालसहित देशका अधिकांश स्थानलाई काठमाडौंसँग जोड्ने मुख्य राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
नागढुंगादेखि मुग्लिनसम्मको राजमार्गमा विभिन्न स्थानमा पहिरो जाने हुँदा सडक अवरुद्ध हुँदै आएको हो । यो राजमार्गको तुइन खोलामा शुक्रबार खसेको पहिरो ४० घण्टापछि खुलेसँगै फेरि धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा पहिरो खसेको छ । जसका कारण यात्रुसँगै गाडीका स्टाफ अलपत्र परेका छन् ।
पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । नागढुंगा-मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालले पहिरो पन्छाउन मंगलबार दिनभर लाग्ने बताए ।
लामो समयसम्म सडक जाम हुने भएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले नागढुंगा-मुग्लिन सडक खण्डको पहिरो र जाम छलेर आउजाउ गर्न सकिने केही विकल्पबारे जानकारी दिएको छ ।
जसअनुसार काठमाडौंबाट पश्चिमतर्फ जाने यात्रुले नौबिसेबाट हेटौँडा निस्किएर जान सकिन्छ । पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो हुँदै आउन सक्ने प्रशासनले जनाएको छ ।
यस्तै, दोस्रो विकल्पमा धादिङको मलेखुनजिकै पर्ने फुर्के खोलाबाट धादिङबेँसी-सल्यानटार हुँदै गोरखाको आरुघाट निस्किन सकिन्छ । यहाँबाट तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । आँबुखैरेनीबाट पोखरा-पाल्पा हुँदै बुटवल निस्किएर पश्चिम जान सकिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
वा आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ निस्किन सकिन्छ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो पन्छाए पनि बाटोमा पहिरोको जोखिम कायमै छ ।
तेस्रो विकल्पमा काठमाडौंबाट बाहिरिएर पश्चिमतर्फ जाने वा पश्चिमतर्फबाट काठमाडौं भित्रिनेका लागि नुवाकोट हुँदै यात्रा गर्न सकिने मध्यपहाडी लोकमार्ग विकल्प हुन सक्ने छ । यो बाटोबाट काठमाडौं, नुवाकोट, सामरी भञ्ज्याङ, गोरखा बजार हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ ।
