काठमाडौँ । नेपालमा सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्न यस क्षेत्रमा कार्यरत अभियान्ता र विज्ञहरूले सुझाव दिएका छन् । विश्व शौचालय दिवसका अवसरमा स्मार्टवास सोलुसनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूले सरसफाइ स्वस्थ्य जीवनका लागि अनिवार्य आवश्यकता भएकाले यसलाई अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिएका हुन् ।
कार्यक्रममा सांसद जगदीश खरेलले सरसफाइको क्षेत्रमा अपेक्षित नतिजा हासिल गर्न नेपाललाई खुला दिसामुक्त बनाउन चालिएको अभियान जस्तै नयाँ अभियान थाल्नुपर्नेमा जोड दिए । उनले विगतमा सरकारको नेतृत्व (लिडरसिप), दातृ निकायहरूको साझेदारी (पार्टनरसिप) र नागरिकको अपनत्व (वनरसिप)लाई संयोजित गरी खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफल भएको बताए । पूर्वमन्त्रीसमेत रहेका खरेलले भने, “अब स्थानीय निकायको नेतृत्वमा पुनर्जागरण अभियान सञ्चालन गरेमा त्यस्तै सकारात्मक र अपेक्षित नजिता ल्याउन सकिन्छ ।”
कार्यक्रममा पूर्वमन्त्री गणेश साहले देशलाई खुला दिसामुक्त राख्ने विषयमा सातवर्ष अगाडि महत्वपूर्ण उपलब्धि हासिल भए पनि सरसफाइको गुणस्तर अभिवृद्धि र संरचनाको मर्मतसम्भार तथा सुधारमा धेरै काम गर्न बाँकी रहेको बताए । उनले घरायसी सरसफाइबाट सार्वजनिक क्षेत्रको सरसफाईको र विभिन्न उपक्षेत्रको सरसफाइमा ध्यान केन्द्रित हुनु सकारात्मक पक्ष भएको बताए ।
विश्व शौचालय दिवसका अवसरमा आयोजित सो कार्यक्रममा डा नवराज खतिवडाले खुला शौचको अवस्था, शौचालयको उपयोग, शौचालयको सरसफाइ, शौचालयको उपयोगमा पुरुष, महिला र अन्य लिङ्गको सहज पहुँचका क्षेत्रमा देखिएका समस्या र समाधानका बारेमा प्रस्तुति दिएका थिए ।
खानेपानी तथा ढलनिकास विभागका सहसचिव सुरतकुमार बमले शौचालयहरू सुरक्षित, स्वच्छ र समान पहुँचयोग्य बनाउन निर्माण पक्षका प्राविधिक र लगानीकर्ताको पनि प्रमुख भूमिका रहने बताए । युनिसेफ नेपालका खानेपानी सरसफाइ र स्वच्चता क्षेत्र प्रमुख मोहम्मद इफ्रान अल्राईले नेपाल दक्षिण एसियामा नै पहिलो खुला दिसामुक्त राष्ट्र बन्नु गर्वको विषय भएको बताए ।
स्मार्ट वासका अध्यक्ष रामदीप साहको अध्यक्षतामा भएको कार्यक्रमको प्राविधिकसत्रमा एसएनभी नेपालका कृष्ण जिसीले दिसा पिसाबजन्य फोहर व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समावेशिता, युनिसेफ नेपालका वासविज्ञ दण्डिराम विश्वकर्माले सुरक्षित पानी समुदाय र दिगो खुला दिसामुक्त कार्यक्रम, वेल्थ हङ्गर लाइफ/सबल नेपालका किरण श्रेष्ठले मधेस प्रदेशका १० स्थानीय निकायमा सरसफाइको अवस्था, कमल अधिकारीले खुला दिसामुक्तको अवस्थालाई दिगो राख्दै सरसफाइको क्षेत्रमा सुधार ल्याउने विषयमा प्रस्तुति दिएका थिए ।
नेपाल २०७६ असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषित भएको थियो । हरेक घर र संस्थामा सार्वजनिक शौचालय निर्माण अभियान सम्पन्न गरेर देशलाई खुला दिसामुक्त घोषणा गरेपनि शतप्रतिशत नेपालीको घरमा शौचालयको सुविधा भने नभएको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको नेपालमा खानेपानी तथा सरसफाइको अवस्था विषयक प्रतिवेदनमा सुरक्षित खानेपानीको पहुँच ४७ दशमलव पाँच प्रतिशत, सुरक्षित सरसफाइ ३९ दशमलव नौ प्रतिशतमा सीमित भएको उल्लेख छ ।